कोकाकोला नेपालले एक हजार महिला व्यवसायीलाई सक्षम तालिम दिँदै |
काठमाडौं । कोकाकोला नेपालले एक हजार महिला व्यवसायीलाई ‘सक्षम’ तालिम दिने भएको छ । बोटलर्स नेपालसँग सहकार्य गरी कोकाकोलाले ‘सक्षम’ कार्यक्रममार्फत महिलाहरूलाई तालिम दिन लागेको हो । यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरू सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीहरूलाई व्यवसायिक तालिम दिने योजना रहेको कोलाकोलाले जानकारी दिएको छ ।
कोकाकोलाका अनुसार अन्तरराष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ लाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरूलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ । कार्यक्रममार्फत महिलाहरूलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न ज्ञान र सीप प्रदान गरिनेछ । पसल सञ्चालन गर्ने महिलाहरूको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाइ र डिजिटल वालेट प्रयोगजस्ता विषयमा क्षमता अभिवृद्धि गर्न कार्यक्रम डिजाइन गरिएको कोलाकोलाले जनाएको छ ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले एउटा नारी सक्षम हुनुको अर्थ राष्ट्र नै सक्षम हुनु ठानेकाले महिलालाई सक्षम बनाउन व्यवसायिक तालिम दिन लागिएको बताए । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले पनि नेपालको ग्रामीण तथा शहरी क्षेत्रका धेरैजसो किराना पसल र खाजा घरहरू प्रायः महिलाहरूले नै चलाउने, तर कोभिड महामारीले विभिन्न चुनौति निम्त्याएकाले उनीहरूको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिइएको बताए ।