लघुवित्त कम्पनीहरुको पुँजी कोषको स्थिति सन्तोषजनक छ ː राष्ट्र बैंक |
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तमा लघुवित्त कम्पनीहरुको पुँजी कोष सन्तोषजनक रहेको नियामक नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजी कोष क्रमशः ११.२८% र १२.४३% रहेको छ ।
राष्ट्र बैंकको प्रावधानमा भने लघुवित्त संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजी कोष क्रमशः ४% र ८% कायम गर्नुपर्छ । समीक्षा अवधिमा लघुवित्तहरुको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा १६.५७% ले र जोखिम भारित सम्पति १५.६०% ले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६% र २१.९५% ले बढेको थियो ।