डिम्याट खाता खोल्ने ५० लाख नाघे, ९० प्रतिशत घर परिवारमा पुग्यो शेयर बजार |
काठमाडौं । दैनिक रुपमा हीतग्राही (डिम्याट)खाता खोलेर शेयर बजार प्रवेश गर्ने लगानीकर्ताको सङ्ख्या सोमबारसम्म ५० लाख नाघेको छ। गएको एक महिनामा मात्रै एक लाख ७५ हजार भन्दा बढी लगानीकर्ताको प्रवेश सँगै उक्त सङ्ख्या नाघेको हो। गत माघ १९ सम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ४८ लाख ३० हजार थिए। सोमबार उक्त सङ्ख्या बढेर ५० लाख नाघेको हो। जुन ३.६५ प्रतिशतको वृद्धि हो।
दैनिक रुपमा शेयर बजार प्रवेश गर्ने लगानीकर्ता बढ्दै जाँदा शेयर बजारमा आबद्ध हुने जनसङ्ख्या समेत बढ्दै गएको छ। सोमबारसम्म नेपालको कुल जनसङ्ख्याको १७.१५ प्रतिशत जनता शेयर बजारमा प्रवेश गरेका छन्। केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ।
घर परिवारको सङ्ख्याको आधारमा हेर्ने हो भने नेपालको करिब ९० प्रतिशत घर शेयर बजारमा आबद्ध भएको देखिन्छ। जनगणना अनुसार नेपालमा कुल ५६ लाख ४३ हजार ९४५ घर छन्। जुन सङ्ख्याको आधारमा ८८.७१ प्रतिशत हुन्छ। तर घर त्यति भएपनि उक्त घरमा बस्ने परिबार भने बढी छन्। कुल ५६ लाख ४३ हजार ९४५ घरमा ६७ लाख ६१ हजार ५९ परिवारको बसोबास छ। परिवारको आधारमा भने शेयरमा आबद्ध हुनेको सङ्ख्या ७३.०६ प्रतिशत हुन्छ।
पछिल्लो समय शेयर बजारमा निक्कै ठुलो आकर्षण देखिएको छ। प्रत्येक परिवारको शेयर बजारमा देखिएको आबद्धताले पनि यसको पुष्टि गर्छ। गत वर्षदेखि शेयर बजारमा आबद्ध हुने सर्वसाधारणको अत्यधिक चाप देखिन्छ। गत वर्ष मात्रै ११६.१४ प्रतिशत भन्दा बढी लगानीकर्ता शेयर बजार प्रवेश गरे। जुन आर्थिक वर्ष ७४/७५ यताकै बढी हो।
गएको पाँच वर्षको औसत वृद्धिदर ७०.१९ प्रतिशत छ। आर्थिक वर्ष २०७३/७४ देखि गत आर्थिक वर्ष सम्मको वृद्धि दर ७०.१९ प्रतिशत देखिएको हो। गत वर्ष नै सबैभन्दा बढी मानिस शेयर बजार पसेका हुन्। गत वर्ष मात्रै शेयर बजारमा २० लाख भन्दा बढी मानिसको प्रवेश भयो। जुन अहिलेसम्मकै सबैभन्दा बढी शेयर बजार प्रवेशको रेकर्ड पनि हो। यस अघि आर्थिक वर्ष ७४/७५ मा सबैभन्दा बढी मानिसको प्रवेश भएको थियो। उक्त वर्ष शेयर बजार प्रवेश गर्नेको सङ्ख्या आठ लाख १७ हजार थियो।
शेयर बजार प्रवेश गरिरहेका धेरै लगानीकर्तालाई शेयर किनबेच गर्ने बारेमा पत्तो छैन। जसले गर्दा बजार प्रवेश गर्नेको दाँजोमा दोस्रो बजारमा भने उनीहरूको सहभागिता नभएको हो। करिब १३ लाख लगानीकर्ता मात्रै दोस्रो बजारमा सक्रिय छन्। जुन कुल प्राथमिक बजारमा भएका लगानीकर्ताको आधारमा करिब २५ प्रतिशत मात्रै हो।