नबिल बैंक र पाल्पाका तीन स्थानीय तहबीच उद्यमशीलता तथा विकासमा सहकार्य |

काठमाडौं । नबिल बैंकले पाल्पाका तीन स्थानीय तहसँग उद्यमशीलता, दिगो आर्थिक विकास, वित्तीय साक्षरता र पहुँच प्रवद्र्धन निम्ति सहकार्य थालेको छ । हेफर प्रोजेक्ट नेपालको सहयोगमा बैंक र तानसेन नगरपालिका, रिब्दीकोट तथा तिनाउ गाउँपालिकाबीच सम्झौता भएको हो ।
पाल्पा सदरमुकाम तानसेनमा आयोजित एक कार्यक्रममा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी र तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रमका प्रमुख अतिथि नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (एसडीजी) लाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यसाथ बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने दाबी गरे । यो सहकार्यले स्थानीयस्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने पनि पौडेलले उल्लेख गरे ।
हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा टेवा पुग्ने बताउँदै कृषि तथा पशु उद्यमशीलताको मूल्य श्रृंखलालाई अझ बलियो बनाउने लक्ष्य लिइएको बताए । सम्झौतापत्रमा उल्लेखित लक्ष्य तथा उद्देश्य प्राप्त गर्न हेफर ईन्टरनेशनले पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
स्थानीय तहका प्रमुखहरूले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन सम्झौता महत्वपूर्ण रहेको र निम्नवर्गको आर्थिक रूपान्तरण हुने कर्जाले सघाउन पुग्ने धारणा राखे । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौतामार्फत नबिल बैंकले पाल्पा जिल्लाको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको जनाएको छ ।