‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’ घोषणा |
काठमाडौं । नेपाली फिल्म र फिल्मकर्मीको सम्मान र प्रोत्साहन गर्ने उदेश्यले ‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’ आयोजना हुने भएको छ । साइमन फिल्मस्ले मुम्बईको डिजाइनमा ओजश फिल्मस् एन्ड इन्टरटेन्टमेन्टसँगको सहकार्यक्रमा अवार्ड आयोजना गर्न लागेको हो ।
आइतबार राजधानीमा एक कार्यक्रमकाबीच अवार्ड घोषणा गरिएको हो । आयोजक साइमन फिल्मस्ले कार्यक्रममा वर्ष २०७६, ०७७ र ०७८ का फिल्म समेटेर अवार्ड आयोजना गर्न लागेको जानकारी दियो । आगामी बैशाख २४ गते आयोजना हुने बताइएको अवार्डमा दुई दर्जन बढी विधा समेटिनेछन् । अवार्ड विराटनगरमा आयोजना हुनेछ ।
नेपाली भन्दा बढी हिन्दी फिल्म प्रदर्शन हुने शहरको रुपमा चिनिएको विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउन अवार्ड गर्न लागेको आयोजक संस्थाका संयोजक साइमन राजवंशीले जानकारी दिए ।
‘विराटनगरमा प्राय हिन्दी फिल्म रिलिज हुन्छ’ साइमनले भने, ‘नेपाली फिल्म हेर्ने दर्शक बढाउन हामीले त्यहाँ अवार्ड गर्न लागेका हौं ।’
कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म क्षेत्रका अर्काे एउटा अवार्ड थपिएको खुसी ब्यक्त गरिन् । ‘अवार्ड भनेको कलाकार र श्रृजनाको सम्मान र प्रोत्साहनका लागि हो’ दीपाले भनिन् । अवार्डले विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउने दीपाले विश्वास व्यक्त गरिन् ।
अभिनेता सरोज खनालले अवार्ड विराटनगरमा आयोजना हुने भएकोले आफुलाई आकर्षक लागेको बताए । कार्यक्रममा निर्देशक जनकदीप पराजुली लगायतले अवार्डको बिषयमा आफ्नो धारणा राखेका थिए । निर्णायक गोप्य राखिने अवार्डमा अहिलेसम्म नेपालमा आयोजना भएको अवार्डभन्दा भिन्न र प्रतिष्ठित बनाउने आफ्नो लक्ष्य रहेको आयोजकले जनाएको छ ।