नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा यस वर्षको लाभांश वितरण प्रकृया सम्पन्न |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको कुल १६ प्रतिशत लाभांश वितरण प्रकृया सम्पन्न गरेको छ । बैंकले यस वर्ष लागि पारित गरेको १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
नगद लाभांश पुसमै वितरण गरेको बैंकले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकरणपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा फागुन ३ गते सूचीकरण गरेको हो । २०७८ साल बैशाख ३१ गतेदेखि बैंकको शेयर कारोबार भने हिमालयन बैंकसँगको मर्जर प्रयोजनका लागि रोक्का रहेको छ ।
बैंकले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत उक्त लाभांश पारित गरेको थियो । बैंकले चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा यस वर्ष कुल १६ प्रतिशत लाभांश वितरण गरेको हो ।
मंसिर ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको बोनस शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको बैंकले सो पश्चात शेयर अभौतिकीकरण गराएकाहरुको हकमा समेत क्रमश जम्मा गर्दै जाने जानकारी दिएको छ । यसर्थ हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।