एलआइसी इन्डियाको मेगा आइपीओ भर्नेको संख्या भारतमा अहिलेसम्मकै धेरै हुने पूर्वअनुमान |
काठमाडौं । भारत सरकारद्वारा सञ्चालित लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डिया (एलआइसी) ले आफ्नो मेगा आइपीओमा ७५ लाखदेखि १ करोड रिटेल लगानीकर्ताले आवेदन दिने अनुमान गरेको छ । वित्तीय बजार तथा लगानीको क्षेत्रमा आवद्ध कुल जनसंख्याको करिब १५% ले आइपीओमा आवेदन दिने एलआइसीले अनुमान गरेको हो । कम्पनीको बिमा पोलिसि होल्डरहरुसहित आइपीओमा आवेदन दिने उक्त रिटेल लगानीकर्ताको संख्या भारतको इतिहासमै उच्च हुनेछ ।
आइपीओमा कुल बिक्री रकममध्ये रिटेल लगानीकर्ताको हिस्सा २ खर्ब ५० अर्ब भारतीय रुपैयाँ हुनेछ । हाल भारतमा ७ करोड ३८ लाख डिम्याट खाता रहेको सरकारी अनुमान छ । एलआइसीले पोलिसि होल्डरलाई पनि आइपीओ बिक्री गर्ने भएसँगै डिम्याट खाताको संख्या ८ करोड नाघेको अनुमान गरिएको छ । एलआइसीले करिब ८ अर्ब अमेरिकी डलर बराबरको आइपीओ बिक्री लागेको हो । मार्च महिनाको अन्त्यसम्म आइपीओ बिक्री गरिसक्ने जोजना रहेको छ ।
एलआइसी भारतको सबैभन्दा ठूलो बिमा कम्पनी हो भने विश्वका ठूला ५ बिमा कम्पनीहरुमध्ये एकमा पर्दछ । गत सेप्टेम्बरसम्मको तथ्यांक अनुसार एलआइसीमा १ लाख ५ हजार भन्दा बढी पूर्णकालीन कर्मचारीहरु रहेका छन् । यस इन्सुरेन्सले ५ खर्ब डलर भन्दा बढीको सम्पति व्यवस्थापन गरिरहेको छ । प्रिमियमका आधारमा यस कम्पनी एक्लैले भारतीय जीवन बिमा बजारको ६०% हिस्सा ओगटेको छ ।
भारतमा पछिल्लो पटक आइपीओ जारी गर्ने जीवन बिमा कम्पनी भने एचडीएफसी लाइफ इन्सुरेन्स रहेको छ । सन् २०१७ मा आइपीओ बिक्री गरी सूचीकृत भएयता एचडीएफसीको सेयर भाउ दोब्बर बढिसकेको छ ।