अजोड इन्सुरेन्सको साधारण सभा सम्पन्न |
काठमाडौं । अजोड इन्सुरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको शुक्रबार (फागुन ६ गते) बसेको साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
यस्तै, गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरण पनि पारित गरेको छ । गत आर्थिक वर्षमा १ खर्ब ३१ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । साथै, खुद नाफा १० करोड २० लाख रुपैयाँ र बिमा कोषमा ११ करोड २१ लाख सञ्चित रहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा कुल बिमा शुल्क संकलनमा ४८.९८%, खुद नाफामा ६०.३३% र बिमा कोषमा ७९.८२% ले वृद्धि हासिल गरेको अजोडले जानकारी गराएको छ । कम्पनीले पुष मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा तथा २४ वटा उपशाखा कार्यालय, १० वटा बिमा एक्स्टेन्सन काउण्टर र ३ वटा तेश्रो पक्ष बिमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै, काठमाण्डौंको ठमेल र टोखामा थप २ वटा शाखा र बाग्लुङ्गमा उपशाखा कार्यालय खोल्न बिमा समितिबाट स्वीकृति पाएको पनि जानकारी गराएको छ ।