नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एडीबीसँग नेपालले थप साझेदारी गर्नुपर्छ : अर्थमन्त्री |

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एशियाली विकास बैंक (एडीबी)सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन्।
शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले यस्तो बताएका हुन्।
नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ,’ उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार श्रृङ्खलामा पुर्याउन पनि एडीबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ।’
उनले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको प्रष्ट पारे। अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ। त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने उनले बताए।