एलसी मार्जिनमा व्याज प्रदान गर्न र कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई नाडाको आग्रह |
काठमाडौं । नाडा अटोमोबाइलस् एसोशिसयन नेपालले एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई आग्रह गरेको छ ।
सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको थियो ।
उक्त व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर परेको भन्दै पूर्व व्यवस्था अनुसारको न्यूनतम मार्जिनको व्यवस्था पुरानो अनुसार नै कायम गर्ने व्यवस्थाका लागि अनुरोध नाडाले अनुरोध गरेको हो ।
यदी उक्त व्यवस्था तत्काल परिमार्जन गर्न संभव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंङ्क तथा वित्तीय संस्थाहरुले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंङ्कबाट निर्देशन जारी गर्न माग गरेको छ ।
त्यस्तै निक्षेपको व्याजदर बढेसँगै बैंङ्क तथा वित्तीय निकायहरुले स्वभाविक रुपमा कर्जाको व्याजदर पनि बढाउने भएकोले यसमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैंङ्कसँग नाडाले आग्रह गरेको छ ।
वित्तिय निकायहरुले व्याजदर बढाउदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिकक्षेत्रलाई ठूलो मार पर्ने नाडाको निष्कर्ष छ ।
उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई बर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित रहेको नाडाको भनाई छ ।