आजदेखि बाणिज्य बैंकमा नयाँ ब्याजदर लागू हुँदै, अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुग्यो |

काठमाडौं । तरलता अभावलाई कम गर्न वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न नेपाल बैंकर्स संघले ब्याजदर बैंकलाई नै निर्धारण गर्ने गरि निक्षेप संकलन गर्न छोडेको हो ।
माघ महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ।
बैंकहरुले तरलता सङ्कट बढेसँगै निक्षेप सङ्कलनका लागि भन्दै कात्तिक र मंसिर महिनामा ब्याजदर बढाएर थिए । मंसिरका लागि बैंकहरुले १०.५ प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका थिए भने विकास बैंकले १०.५ प्रतिशत र फाइनान्सले १०.३५ प्रतिशत ब्याज तय गरेका थिए । अब फागुन महिनामा आएर नयाँ ब्याजदर कायम हुने भएको छ ।
नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । गत पुस मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.४० प्रतिशत छ । गत असोजमा यस्तो दर ७.५३ प्रतिशत थियो । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस्तो दर १.२० प्रतिशत बिन्दुले बढेको देखिन्छ ।