एशियन लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, २७ प्रतिशत लाभांश पारित |

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एशियन लाईफ भवनबाट २०७८ माघ २१ गते शुक्रबार भच्र्युअल माध्यमबाट सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने ५० करोड २६ लाख रूपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि २ प्रतिशतका दरले हुन आउने ४ करोड २ लाख रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
संचालक समितिको तर्फबाट अध्यक्ष श्री दिपक कुमार श्रेष्ठले पेश गर्नुभएको आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक एस ए आर एशोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिल कुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको छ ।
एशियन लाईफ इन्स्योरेन्सको ५१% स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष(Mutual Fund) संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिन र कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारण सभाको बहुमतबाट पारित भएको छ ।
साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।
२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको कम्पनीले पौष मसान्त सम्ममा जीवन बीमा कोष ३० अर्ब रूपैयाँ सञ्चित छ ।
त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को पौष मसान्तसम्ममा कूल १ अर्ब ६ करोड २४ लाख रूपैयाँ प्रथम बीमाशुल्क र ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।