समता घरेलु लघुवित्तको नाफा घट्यो |
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७३.४५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ३७ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ६६ लाख रुपैयाँ मात्र खराब कर्जा उठाएको छ। जसका कारण नाफा घट्न पुगेको हो।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ रुपैयाँ ७५ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ रुपैयाँ २ पैसा घटेर २० रुपैयाँ ७३ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६०.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढेको छ भने जगेडा कोष ३६.०३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ५९.९२ प्रतिशत, निक्षेप ३४.२८ प्रतिशत र कर्जा ५५.२५ प्रतिशत बढेको छ।