छ महिनामा १ खर्ब ८६ अर्बका १५४ उद्योग दर्ता |
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा १५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङक अनुसार साउन महिनादेखि पुस मसान्तसम्म १ खर्ब ८६ अर्ब रुपैयाँ बराबरका १५४ वटा उद्योग दर्ता भएका हुन् ।
गत वर्षको सोही अवधिको तुलनामा पुस मसान्तसम्म साना, मझौला र ठूला उद्योग गरी १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको ५४ वटा थप उद्योग दर्ता भएको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानीका १०३ वटा उद्योग दर्ता भएका थिए ।
दर्ता भएका १५४ वटा उद्योगहरुबाट १३ हजार ७४८ जनाले रोजगारी पाउने भएका छन् । गतवर्ष सोही अवधिमा दर्ता भएका १०३ वटा उद्योगबाट ६ हजार २८८ जनाले रोजगारी पाएका थिए ।
विभागका अनुसार दर्ता भएका उक्त उद्योगहरुमध्ये ३० अर्ब ५६ करोड विदेशी लगानीका १२९ वटा उद्योगहरु रहेका छन् । विदेशी लगानी स्वीकृत भएका उद्योगहरुबाट ८ हजार १४६ जनाले रोजगारी पाउने भएका छन् ।
यस अवधिमा४५ वटा ठुला उद्योग, ५७ वटा मझौला उद्योग र ५२ वटा साना उद्योग दर्ता भएको विभागको तथ्याङकमा उल्लेख छ । त्यस्तै यस अवधिमा विदेशी लगानीमा दर्ता भएका १२९ उद्योगमध्ये २ वटा ठूला उद्योग, ३७ वटा मझौला उद्योग र ९० वटा साना उद्योगहरु रहेका छन् ।
त्यसैगरी चालू आर्थिक वर्षको छ महिनामा डिजाइन दर्ता संख्या १३, ट्रेडमार्क दर्ता संख्या १६८०, प्रारम्भिक वातावरणीय परिक्षण ३७, ट्रेडमार्क सम्बन्धी मुद्दा कारवाही संख्या ३१ र सर्टिफिकेट अफ ओरिजिन जारी भएका उद्योगहरुको संख्या ३९ रहेको विभागले जनाएको छ ।
गत वर्षको सोही अवधिमा दर्ता भएका उद्योगहरुमा १७ वटा ठूला उद्योग, २१ वटा मझौला उद्योग र ६५ वटा साना उद्योगहरु रहेका थिए । साथै सोही अवधिमा २३ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानीमा दर्ता भएका १२३ वाट उद्योगहरुमध्ये २ वटा ठुला उद्योग, दुई वटा मझौला र ११९ वटा साना रहेका थिए ।