केन्द्रीय बैंककाे निर्देशनपछि धमाधम लघुवित्तको संस्थापक शेयर बेच्दै बैंकहरु |
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तमा भएको बैंकहरुको क्रसहोल्डिङ शेयर अनुपातको आधारमा मर्जरमा जानुपर्ने निर्देशन दिएपछि धेरै बैंकहरुले लघुवित्तमा भएको आफ्नो शेयर अनुपात घटाउन थालेका छन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हालै एक निर्देशन जारी गर्दै लघुवित्तमा कुनै एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेमा वा एक भन्दा बढी संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएमा त्यस्ता लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जरमा जाने कार्य योजना बनाएर आगामी असार मसान्तसम्म पेश गर्न भनेको छ ।
नेपाल राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी शेयर रहेका लघुवित्त वित्तीय संस्थाहरु मर्जरमा जान निर्देशन दिएपछि १० प्रतिशतभन्दा कम शेयर स्वामित्व बनाउन पनि विस्तारै लघुवित्तको संस्थापक शेयर लिलामीमा आएको हो । नेपाल लघुवित्त वित्तीय संस्था संघका अध्यक्ष एवम् लक्ष्मी लघुवित्त वित्तीय सस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले पनि कुनै पनि लघुवित्तमा १० प्रतिशतभन्दा कम स्वामित्व कम बनाउन शेयर लिलामीमा राखेको हुन सक्ने बताए पनि एकिन साथ भन्न कठिन हुने बताए । उनले भने –‘नेपाल राष्ट्र बैंकले क्रस होल्डिङको आधारमा मर्जरमा निर्देशन दिनु र लघुवित्तको संस्थापक शेयर लिलामीमा आउनु संयोग पनि हुनसक्छ । लघुवित्त कम्पनीहरुको शेयर मूल्य बढेको समय पारेर प्रोफिट बुक गरेको पनि हुनसक्छ’ अध्यक्ष शर्माले अरु बैंकहरुलाई मर्जरमा जानको लागि मार्ग प्रशस्त गर्न पनि आफ्नो स्वामित्वमा भएको शेयर बेचेको हुन सक्ने बताए।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले मर्जरमा जान नचाहेका कम्पनीले आफ्नो शेयर अफलोड गरेको हुन सक्ने बताए । ‘राष्ट्र बैंकको निर्देशन अनुसार कि त लघुवित्तहरु मर्जको लागि पहल गर्नुपर्यो कि अरुलाई मर्जर गर्न शेयर अफलोड गरिदिनु पर्यो ।’–उनले भने ।
राष्ट्र बैंकको सो निर्देशनपछि केही बैंकहरुले आफ्नो शेयर स्वामित्व रहेका शेयरहरु लिलाम बढाबढमा बिक्री गर्न सूचना प्रकाशित गरेका छन् । हालै मात्र नबिल बैंकले स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार कित्ता सेयर लिलामीमा बेच्न सूचना प्रकाशित गरेको हो । बैंकले गत माघ ५ गतबाट १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ६५० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा माघ १८ गतेभित्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ, नक्साल काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।