स्वीकृत भएका ६ वटा आइपिओ एकै पटक निष्कासन नहुने,पालो लाउने तयारी |

काठमाडौं । लामो समयदेखि रोकिएका प्राथमिक शेयर निष्कासन पुन: शुरु हुने भएको छ। कार्तिक २१ यता निष्कासन नभएको आइपिओ पुन: शुरु हुन लागेको हो।
पछिल्लो पटक गत कार्तिक २१ गतेदेखि सामलिङ पावरले प्राथमिक निष्कासन गरेको थियो। त्यस यता धितो पत्र बोर्डले प्राथमिक निष्काशनको स्वीकृति नदिएका कारण प्राथमिक शेयर निष्कासन नै अवरुद्ध थियो। तर बोर्डले गत माघ ९ गते एकै पटक ६ कम्पनीको प्राथमिक शेयर निष्कासन स्वीकृति दिएसँगै आइपिओ निष्कासन प्रक्रिया पुन: सुचारु हुन लागेको हो।
एकै दिन ६ कम्पनीले प्राथमिक शेयर निष्कासनको स्वीकृति पाएसँगै सबै कम्पनीहरू शेयर निष्कासन प्रक्रियामा छन्। सबै कम्पनीले प्रक्रिया अघि बढाएका भए पनि ती सबैले एउटै मितिमा प्राथमिक शेयर निष्कासन गर्न नपाउने भएका छन्। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले ती सबै कम्पनीलाई एउटै मितिमा निष्कासन गर्न नदिने भएको हो। सिडिएससिले अनुसार प्रविधिले धान्न सक्ने गरी मात्रै निष्कासन अनुमति दिइने छ। “६ वटै कम्पनीलाई एकै पटक निष्कासन गर्न दिइने छैन। भरसक एक कम्पनीको निष्कासन सकिएपछि मात्रै अर्कोलाई निष्कासन गर्न दिने तयारी छ” सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले भने।
न्यौपानेका अनुसार एकै पटक निष्कासन गर्न दिँदा आवेदनकर्तालाई पनि समस्या हुने छ भने अर्को तर्फ सिस्टममा पनि भार पर्ने छ। आवेदनकर्तालाई एकै पटक सबै निष्कासनमा आवेदन दिन आर्थिक व्यय भार पर्ने छ भने सिस्टममा एकै पटक लोड पर्दा आवेदन नै ढिला हुने सम्भावना हुन्छ। हुन त सिडिएससिले अहिलेलाई धान्ने गरी नै सिस्टम स्तरोन्नति गरिसकेको छ। तर पनि रिस्क लिनै पर्ने बाध्यता नभएकोले पनि एक पछि अर्को गर्न लागिएको हो। निष्कासनको प्रक्रिया पुर्याएर आउने कम्पनीको आधारमा निष्कासन मिति तोकिने छ। अहिलेसम्म कम्पनीहरू सम्पर्कमै रहेकोले पनि उक्त व्यवस्था गर्न कठिनाइ हुने छैन।
६ कम्पनीले एक अर्ब ७६ करोड रुपैयाँ बराबरको एक करोड ७६ लाख कित्ता शेयर निष्कासन हुने छन्। जसमा सबैभन्दा बढी ग्रिन भेन्चरले ६२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने छ भने दोस्रोमा इमरजिङ नेपाल छ। उसले ५५ लाख ५६ हजार कित्ता शेयर निष्कासन गर्ने छ। बाँकी तीन कम्पनीले २२ लाख सात सय ५० कित्ता शेयर निष्कासन गर्ने छन्। शेयर निष्कासन गर्ने कम्पनीहरूमा तीन लघुवित्त कम्पनी छन् भने दुई जलविद्युत छन्। एक कम्पनी लगानी समूहको छ।