कालिका लघुवित्तको खुद नाफा उल्लेख्य बढ्यो |
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २०५.१९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ७५ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी र संञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल हुदाँ लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । यस्तै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएपछि नाफा बढ्न थप टेवा पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.३७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा पनि ५६५.८५ प्रतिशत बढेको छ । लघुवित्तले पुस मसान्तसम्ममा ६ करोड ९७ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । जसले गर्दा लघुवित्तको नाफा उल्लेख्य बढ्न पुगेको हो ।
यस अवधिमा लघुवित्तले एक अर्ब ३४ करोड निक्षेप संकलन गरेको छ । एक अर्ब ५८ करोड रुपैयाँ सापटि लिएको लघुवित्तले ३ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस अवधिमा लघुवित्तले १५ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
चुक्ता पूँजी २७ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २२ करोड ७ लाख रुपैयाँ संञ्चित छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८४ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ७४ पैसा पुगेको छ ।
यस्तै लघुवित्तको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २१.६२ गुणा रहेको छ ।