स्टान्डर्ड चार्टर्डको खुद नाफा ४९.३५% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४९.३५% धेरै हो । गत वर्ष बैंकले ७२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४३.९०% र ४८.६९% ले बढेको छ ।
गत वर्ष १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले यो त्रैमासमा बढाएर १ अर्ब ६५ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन नाफा पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफा ७५ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
यो त्रैमाससम्म बैंकले ८६ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ७६ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा घटेर ०.४४% मा झरेको छ । गत वर्ष खराब कर्जा १.५४% रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ २८ पैसा रहेको छ ।