बढ्यो गुडविल फाइनान्सको नाफा ४२.७१ प्रतिशतले बढ्यो |
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै फाइनान्सको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३८.३५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.८८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा भने ४२.२२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ करोड ३६ लाख रुपैयाँ रहेको फाइनान्सको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ६१ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ८५ लाख रुपैयाँ रहेको छ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १२ रुपैयाँ ८० पैसाबाट बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको चुक्ता पूँजी ९.१० प्रतिशत बढेको छ भने जगेडा कोष ७.०२ प्रतिशत बढेको छ। सो अवधिमा फाइनान्सको निक्षेप ३.०२ प्रतिशत बढेको छ भने कर्जा ८.६५ प्रतिशत बढेको छ।