नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले गरे सपथ ग्रहण |

काठमाडौं । नबिल बैंकको संचालक समितिको पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट २०७८ माघ ५ गतेका दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।
नबिल बैंकले ३७ औं साधरणसभा सम्पन्न गरेको तथा अहिलेसम्म गरिआएको कार्यहरुलाई गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे।
शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पुर्याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।
नबिल बैंकका अध्यक्ष पौडेललाई वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लिमिटेडको प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो ।
यस बैंककाे १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन् ।