एनआईबिएल समृद्धि फण्ड–१ खारेजी प्रकृयामा |
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल समृद्धि फण्ड–१ को खारेजी प्रकृया अघि बढाएको छ । धितोपत्र दोस्रो बजारमा पुस २२ गतेपछि सूचीकरण खारेजी गराईसकेको क्यापिटलले पुस २३ गतेपछि योजना खारेजी प्रकृया अघि बढाएको जानकारी दिएको हो । शुक्रवार क्यापिटलले सुचना जारी गरी योजना खारेजी प्रकृया पुरा भएपश्चात इकाईधनीहरुलाई रकम फिर्ता भुक्तानी गरिने बताएको हो ।
नेपाल धितोपत्र बोर्डबाट २०७१ साल कात्तिक ३० गते सञ्चालनको अनुमति प्राप्त गरी योजना २०७१ साल पुस २३ गतेदेखि सञ्चालनमा आएको थियो । सात वर्षे अवधिको बन्दमुखी योजना इकाईधनीहरुलाई ९८ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गरी परिपक्व भएको हो ।
योजना परिपक्क भएपश्चात खारेजी प्रकृया पुरा गरी योजना परिपक्क हुदाँसम्मको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई आफ्नो इकाई बमोजिमको रकम फिर्ता गर्ने तयारी योजना व्यवस्थापकले गरेको हो । योजनाले प्रतिइकाई रू. १० अंकित दरको रू. १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको थियो । इकाई बाँडफाँट गरेको दोस्रो आर्थिक वर्ष २०७२/७३ देखिनै योजनाले प्रतिफल वितरण गरेको थियो ।
आर्थिक वर्ष ०७२÷७३ को मुनाफाबाट १५ प्रतिशत प्रतिफल वितरण गरेको योजनाले त्यसपछिको वर्ष क्रमश ः १८ प्रतिशत, १२ प्रतिशत, ६ दशमलव ५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत प्रतिफल वितरण गरेको हो । योजना परिपक्क हुने वर्ष सर्वाधिक ३५ प्रतिशत प्रतिफल वितरण गर्न योजना सफल भएको हो ।
मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १२ दशमलव ६२ रहेको छ । त्यस अवधिसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य बैंक मुद्दती निक्षेप सहित रू. १ अर्ब १४ करोड ८ लाख ५१ हजार छ । योजनाले मंसिर मसान्तसम्म रू. १ करोड २२ लाख १६ हजार नाफा गरेको छ । योजनाको खुद सम्पत्ति मंसिर मसान्तसम्म रू. १ अर्ब २६ करोड १९ लाख ८ हजार रहेको छ ।