सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा |
काठमाडौं । सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा नियुक्त भएका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियुक्तिको पत्र दिएपछि शुक्रबार विभाग पुगेर सापकोटाले पदबहाली गरेका छन् ।
यसअघिका महानिर्देशक अर्जुनजंग थापाको स्थानमा सापकोटा महानिर्देशक बनेका हुन् । बिहीबारसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण महाशाखा प्रमुखका रुपमा रहेका उनी यसअघि पनि महानिर्देशकको प्रमुख दावेदारका रुपमा थिए ।
महानिर्देशकको पदबहालीपछि सापकोटाले पुँजीगत खर्च कमजोर रहेको पक्षमा सुधारका लागि पहल थालिहाल्ने बताएका छन् । सडक विभाग नेपालमा धेरै पुँजीगत बजेट पाउने निकायमध्ये अग्रस्थानमा पर्छ ।
‘विभागभित्र सुशासन प्रवर्द्धन गर्न पनि म भूमिका खेल्नेछु,’ सापकोटाले भने,’रुग्ण आयोजनाहरुका कारण जनतालाई भएको सास्ती र राज्यलाई भएको हानीलाई हेरेर आवश्यक सुधारका कदम चाल्नेछु ।’
२०६९ सालमा सहसचिव बनेका सापकोटाले आगामी वैशाख १९ गते निजामति सेवाबाट अनिवार्य अवकाश पाउनेछन् । हाइवे-इन्जिनियरिङ उपसमूहका इन्जिनियर सापकोटाले यसअघि विभागको उपमहानिर्देशकका रुपमा काम गरिसकेका छन् ।