एफटीटीएच विस्तारमा टेलिकमले मार्यो फड्को, २ लाख १४ हजार घरमा फाइबर ‘कनेक्सन’ |
काठमाडौं । चार वर्ष अघि ३१ ओटा घरमा मात्रै पुगेको नेपाल टेलिकमको फाइबर टु दि होम(एफटीटीएच) सेवाकाे ०७८ मा आईपुग्दा २ लाख १४ हजार घरमा कनेक्सन पुगेको छ ।
मुख्य प्राेजेक्टको रुपमा नेपाल टेलिकमले अघि बढाएको एफटीटीएच विस्तारकाे क्रम कोरोनापछि आक्रामक देखिएको छ ।
नेपाल टेलिकमले मेरो लगानीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७१ सालसम्म नेपाल टेलिकमले जम्मा एउटा मात्रै फाइबर इन्टरनेट वितरण गरेको थियो । त्यतिबेला निजी इन्टरनेट सेवाप्रदायकले इन्टरनेट सेवामा क्रान्ति गरिसकेका थिए ।
त्यस्तै २०७४ मा ३१ जना सेवाग्राहीलाई फाइबर इन्टरनेट उपलब्ध गरायो । २०७५ मा १६ सय ७३ ओटा मात्रै एफटीटीएच वितरण भएकोमा २०७६ सालमा आएर ३० हजार ६ सय जनाको पहुँचमा फाइबर पुग्यो ।
नेपाल टेलिकममा प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त भएर आएसंगै नेपाल टेलिकमले एफटीटीएच विस्तारमा नै फड्को मार्यो । २०७७ सम्म आइपुग्दा एक लाख ९ हजार कनेक्सन पुर्याउन टेलिकम सफल भयो ।
२०७८ को पुसकाे पहिलो सातासम्म ८२ हजार एफटीटीएच विस्तार गरेर हालसम्म २ लाख १४ हजार ८ सय ४१ घरमा फाइबर कनेक्सन पुर्याइसकेको छ ।
एफटीटीएचको लागि ७ लाख नेटवर्क बनाइसकेको टेलिकमले १२ लाख कनेक्सन पुर्याउनका लागि डिटेल प्लानिङ समेत गरिसकेको छ । हाल नेपाल टेलिकम एउटै फाइबरबाट भ्वाइस,भिडियो र डेटा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी २०६८÷०६९ सालमा एफटीटीएच उद्घाटनको क्रममा १० बर्षे योजना बनाएर अघि बढेको भए टेलिकमले फाइबर इनटरनेटमा सबैभन्दा अघि हुने बताउँछन् ।
‘टेलिकमले त्यतिबेला नेटवर्क बनाउदा भविष्यलाई नसोची बनायो । भविष्यमा हाई डेफिनेसका कन्टेन्ट आउँछन् र त्यका लागि उच्च ब्यान्डवीथ आवश्यक पर्छ त्याे बेला कपर नेटवर्कले सधै सपोर्ट गर्दैन भनेर टेलिकमले सोचेन’ अधिकारीले भने ‘एडिएसएललाई नै प्रमोट गर्दै टेलिकम अघि बढेकाले हामी पछि परेका हौं’ ।
तर,कोभिडपछि एफटीटीएच सेवामा ग्राहकको आकर्षण धेरै बढेको अधिकारीको भनाइ छ । अहिले नेपालमा चर्को इन्टरनेट स्पीड वार चलिरहेको छ । तर, नेपाल टेलिकमले भने सय एमबीपीएस माथिका प्याकेज ल्याएको छैन ।
अधिकारी भन्छन् ‘स्पीड एउटा नम्बर मात्रै हो नेपाल टेलिकमको एफटीटीएच स्पीड भन्दा पनि गुणस्तरमा ध्यान दिन्छ।’आफ्नै कार्यकालमा टेलिकमले एफटीटीएचमा फड्को मारेको दाबी अधिकारीको छ ।
टेलिकमका एमडी अधिकारीका अनुसार पछिल्लो समय टेलिकमले दैनिक ६ सय कनेक्सन हुँदै आएको छ । अहिले टेलिकमले २५ , ४०, ५०, ८० र सय मेगा विट्स पर सेकेन्ड ( एमबिपिएस) गतिको इनटरनेट प्याकेज दिइरहेको छ ।