एक करोड ३७ लाख पुगे फोरजी प्रयोगकर्ता |
काठमाडौं । नेपालमा चौथो पुस्ताको फोरजी सुरु भएको ५ बर्षमा एक करोड ३७ लाख प्रयोगकर्ता पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले फोरजी प्रयोगकर्ता ह्वातै बढाएको छ ।
तथ्याङ्क अनुसार टेलिकम एक्लैले फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४ सय रहेका छन् । गत बर्ष सोही समयमा नेपाल टेलिकमका फोरजी ग्राहक २० लाख थिए । नेपाल टेलिकमले एक बर्षको अवधिमा फोरजी प्रयोगकर्ताको संख्या ५४ लाख ३५ हजारले बढाएको छ ।
त्यस्तै अर्को प्रतिस्पर्धी एनसेलले भने ६१ लाख ४५ हजार मात्रै प्रयोगकर्ता बनाउन सकेको छ । एनसेलको एक बर्षमा २० लाख प्रयोगकर्ता बढाएर सो संख्यामा सेवाग्राही पुर्याएकाे हो । एनसेलको गत बर्ष ४० लाख ४२ हजार प्रयोगकर्ता थिए ।
त्यसैगरी नेपालको तेस्रो मोबाइल सेवाप्रदायक स्मार्टसेलका ग्राहक भने १ लाख ५३ हजार ७ सय ४५ जना पुगेका छन् ।
कस्को कति हिस्सा ?
हाल नेपालमा मोबाइल प्रयोगकर्ताको सबै भन्दा बढी हिस्सा नेपाल टेलिकमले ओगटेको छ । नेपाल टेलिकमको मोबाइल हिस्सा ५४ दशमलव २९ प्रतिशत रहेको छ भने एनसेलको ४४ प्रतिशत हिस्सा छ ।
गत कात्तिकसम्म नेपालमा फोरजी प्रयोगकर्ताको संख्या कुल १ करोड ३७ लाख ८७ हजार जना पुगेको छ । हालसम्म नेपालमा तेस्रो पुस्ताको थ्रिजी प्रयोगकर्ता एक करोड २४ लाख रहेको छ ।