तीन कम्पनीको शेयरमूल्य समायोजन |
काठमाडौं । पुस १३ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य समायोजन भएको हो।
यस दिन नेप्सेले महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९.५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात महालक्ष्मी विकास बैंकको शेयरमूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ भने निर्धन उत्थानको १ हजार २०० रुपैयाँ ७७ पैसा र नेपाल हाइड्रो डेभलोपर्सको ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा महालक्ष्मीको शेयर प्रतिकित्ता ५६४ रुपैयाँ ४० पैसा, निर्धन उत्थानको १ हजार ५५५ रुपैयाँ र नेपाल हाइड्रो डेभलोपर्सको ३९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।