कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान |
काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ ।
नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदीप क्याम्पस सुर्खेतको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैकिङ्गसम्बन्धी जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कार्यक्रमहरूमा करिब ३०० विद्यार्थीहरू सहभागी थिए ।
उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बंैकका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्ग प्रविधिहरू, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्गका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि बैंक प्रादेशिक कार्यालयका प्रमुख अश्विनकुमार पुडासैनीले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक विद्यार्थी यस सम्बन्धमा जानकार रहनुपर्ने कुरामा जोड दिएका थिए । नेपाल बैंकले भविष्यमा उद्यमी बन्न चाहने विद्यार्थीलाई सहयोग गर्ने भन्दै एक व्यक्ति एक बैंक खाता हुनुपर्नेमा पनि पुडासैनीले जोड दिए ।
क्याम्पस प्रमुखहरुले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंक लिमिटेडलाई धन्यवाद दिंदै यस कार्यक्रमबाट सम्पूर्ण विद्यार्थीहरूले बढी भन्दा बढी लाभ लिने विश्वास व्यक्त गरेका छन् ।
बैंकले जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा पनि पुस ९ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ८५ औं वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले हाल ७२ जिल्लामा २१३ शाखाहरू, १५० एटिएम र ४७ एक्सटेन्सन काउण्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको जनाएको छ ।