नेप्से सूचक ९२ अंकले बढ्यो |
काठमाडौं । बैंकिङ्ग प्रणलीमा तरलता सहज हुने अपेक्षामा शेयर बजारका लगानीकर्ताहरु उत्साहित देखिएका छन् । सरकारले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत बैंकहरुलाई निक्षेपको रुपमा लिन पाउने र बिलासिताकाे सामान आयतमा कडाईले तरलतामा सहजता पुग्ने भएपछि लगानीकर्ताहरु उत्साहित देखिएका हुन् ।
शेयर बजारका लगानीकर्ताहरु उत्साहित देखिएपछि नेप्से सूचक ९२ अंकले बढेकाे छ ।
मंगलबारदेखि उकालो लाग्न थालेको नेप्से सूचकलाई बुधबार करीव १ सय अंककाे साथ मिलेकाे छ । नेप्से सूचक मंगलबार ५६.७३ अंक र बुधबार ९२.१६ अंक गरी दुई दिनमा मात्रै १४८.८९ अंकले बढेको हो ।
यस दिन नेप्से सूचक ९२.१६ अंकले बढेर २५०७.७० अंकमा पुगेको छ । २३३ कम्पनीका ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच भएर ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमुहको सूचक सकारात्मक देखिएका छन् । व्यापार उपसमूहको सूचक सर्वाधिक ८.२३ प्रतिशतले बढेकाे छ । यस्तै उत्पादन तथा प्रशोधन ७.६६ प्रतिशत, हाइड्रोपावर ६.०३ प्रतिशत र विकास बैंक उपसमुहको सूचक ५.५१ प्रतिशतले बढेको छ ।
यस्तै सबैभन्दा कम म्युचुअल फण्ड उपसमुहको सूचक ०.४७ प्रतिशतले मात्रै बढेको छ ।
नेप्से सूचकसँगै यस दिन १० कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अरुण भ्याली हाइड्रो पावर, बरुण हाइड्रोपावर, अपर तामाकोशी र शिवम सिमेन्टको शेयरमूल्य १० प्रतिशतले बढेको छ । गोर्खज फाइनान्सको शेयरमूल्य भने २.१६ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । उसले बुधवार मात्र सत प्रतिशत लाभाँश घाेषणा गरेकाे थियाे । यस दिन हिमालयन डिस्टिलरीको ६८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै अपर तामाकोशीको पनि १५ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।