महालक्ष्मी विकास बैंकले पुस २५ गते साधारण सभा गर्ने, २१.०५३ प्रतिशत लाभांश प्रस्ताव |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुस २५ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष बैंकले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ रहेको छ ।
यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यी प्रस्तावसँगै बैंकले सञ्चालक समितिको बैठक भत्ता, दैनिक भ्रमण भत्ता लगाएतका अन्य सुविधलाई बृद्धि गर्ने र संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी कुल ६ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।