एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान |

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूका लागि प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना संचालनमा ल्याएको छ । सञ्चार सेवाको आवश्यकता सम्बोधन गर्न यो योजना तयार पारिएकाले लक्षित समूहले लाभ लिन सक्ने एनसेलको दाबी छ ।
यो योजनामा मासिक रूपमा कुनै निश्चित रकम तिर्नुपर्ने बाध्यता नरहने र सहजै प्रिपेड सेवा लिन सकिने सेवा प्रदायकले जनाएको छ । योजनाको लाभ लिनेले कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल लगायत विशेषताको फाइदा उठाउन सक्नेछन् ।
ग्राहकले बोनस डेटा पाउने सुविधा पनि रहेको र रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको एनसेलले जानकारी दिएको छ । ‘अन थिम’ अन्तर्गत शुक्रबार (पुष २) बाट लागू हुनेगरी यो योजना ल्याइएको र ग्राहकहरूले सरल रूपमा प्रचलित प्रिपेड सेवामा जस्तै यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समुह अर्थात कार्यलयका साथीहरूसँग करसहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवापनि कर सहितमात्र १.३० रुपैयाँ प्रति मिनेटमा उपलब्ध हुने जानकारी दिइएको छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा १.३० रुपैयाँ प्रतिएमबी र पेजी एसएमएस सेवा पनि समान दररेटमा पाउनेछन् ।
ग्राहकले एकपटक मात्र करसहित १५० रुपैयाँमा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्नेछन् । यो प्लान सुचारु भएपछि ग्राहकले ३५ रुपैयाँ मेन ब्यालेन्ससहित सात दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्नेछन् । साथै, ३० दिनसम्म २०० रुपैयाँको रिचार्ज गरेमा ग्राहकले सात दिनको समयसीमा रहेको एक जीबी डेटा पनि प्राप्त गर्ने एनसेलले जानकारी दिएको छ ।
अन्य सुविधाअन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरू पनि खरिद गर्न सक्ने जनाइएको छ । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याकअन्तर्गत दुई जीबी÷चार जीबी/६ जीबी डेटा प्याक, वानटाइम तीन जीबी÷पाँच जीबी प्याक र कम्बो प्याकहरू खरिद गर्न सक्छन् । कम्बो प्याकअन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको २०० रुपैयाँ को कम्बो सिल्भर, ३०० रुपैयाँको कम्बो गोल्ड वा ३५० रुपैयाँको कम्बो प्लाटिनम प्याक पनि लिन सक्नेछन् ।
यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरूले कम्तिमा दुईवटा सिमकार्ड लिनुपर्नेछ । विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरूले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजातहरू पेस गरी बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्ने एनसेलले जानकारी दिएको छ ।