जेहेन्दार विद्यार्थीले पाए हिमालयन बैंकबाट सहयोग |

काठमाडौं । नवलपुरको कावासोतीस्थित श्री शिव नमूना माविमा अध्ययनरत जेहेन्दार र निम्न वर्गका विद्यार्थीहरूले हिमालयन बैंकको स्थानीय शाखाबाट छात्रवृत्ति तथा स्टेशनरी सहयोग प्राप्त गरेका छन् । बैंकको कावासोतीस्थित शाखाले विद्यार्थीहरूलाई सहयोगस्वरूप मासिक छात्रवृत्ति तथा स्टेशनरी उपलब्ध गराएको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरेको जानकारी दिएको छ । उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरूलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरूलाई स्टेशनरी सामान प्रदान गरिएको हो ।
विद्यालय वार्षिकोत्सवको अवसरमा आयोजित समारोहबीच विद्यार्थीहरूलाई बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले छात्रवृत्ति तथा स्टेशनरी सामग्री हस्तान्तरण गरेका हुन् ।