ज्योति विकास बैंकले बोलायो साधारण सभा |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते, शुक्रबार चौधौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
यसका साथै सभाले अधिकृत पूँजी ५ अर्बबाट वृद्धि गरी ८ अर्ब पुर्याउने, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेपसेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।