तीन लघुवित्तको शेयरमूल्य समायोजन |
काठमाडौं । पुस १ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजनपश्चात सपोर्ट लघुवित्तको शेयरमूल्य १ हजार ७६९ रुपैयाँ २३ पैसा, सूर्योदय लघुवित्तको १ हजार ४२७ रुपैयाँ ५० पैसा र वोमी लघुवित्तको १ हजार ३४० रुपैयाँ ८३ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी तीन लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, सपोर्ट लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने सूर्योदय लघुवित्तको १ हजार ७१३ रुपैयाँ र वोमी लघुवित्तको १ हजार ६०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बिहीबार यी समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी लघुवित्तहरुको शेयर कारोबार खुल्नेछ।