स्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा : १३.०६ प्रतिशत लाभांश पारित |
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित भएको बैंकले जानकारी दिएको छ ।
मुख्य कार्यालय नयाँ बानेश्वरमा मंगलबार बसेको साधारणसभाको अध्यक्षता बैंक अध्यक्ष जरिन दारुवालाले गरेकी थिइन् । बैंकले गत आर्थिक वर्षमा दुई अर्ब एक करोड सञ्चालन नाफा र एक अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।
बैंक अध्यक्ष दारुवालाले बैंकका लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य साझेदारहरूलाई धन्यवाद दिँदै उच्च संस्थागत सुशासन कायम गराउनेतर्फ प्रतिबद्ध रहेको बताइन् । सन् १९८७ देखि नेपालमा बैंकिङ्ग सेवा थालेको यो बैंकको कूल सेयरमध्ये २९.७९ प्रतिशत स्वामित्व नेपाली नागरिकसँग छ । बेलायतको लण्डनमा मुख्यालय यो बैंकको बाँकी सेयर भने विदेशी लगानीकर्ताहरूसँग छ ।