कांग्रेस सभापतिमा २७३३ मत ल्याउदै शेरबहादुर देउवा निर्वाचित |
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेन ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।
देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।
शेरबहादुर देउवाको जन्म विसं २००३ जेठ महिनामा डडेलधुरामा भएको हो । उनी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बनेका थिए । देउवाले नेविसंघमा करिब १० वर्ष (२६–३६) नेतृत्व गरे । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको १० औं पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए ।
२०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए र पराजित भए । ०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उनी सर्वसम्म सभापति चयन भए ।
०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका १२ औं महाधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा काँग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।
काँग्रेस प्रजातान्त्रिकको समेत नेतृत्व गरेका देउवा फेरि सभापतिको मैदानमा उत्रिएका थिए । ५ औं पटक प्रधानमन्त्री भएर देउवाले अहिले मुलुक हाँकी रहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले काँग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका थिए ।
पहिलो उस्ताका उनी दोस्रो पुस्ताका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, तेस्रो पुस्ताका प्रकाश महत र चौथो पुस्ताका प्रदीप पौडेललाई पदाधिकारीमा समेटेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भने सुरु भइसकेको छैन ।