सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त |
काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । मंसिर २७ गते बसेको बैंक संचालक समितिको ३८५औँ बैंठकले कडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
यसअघि बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरे पश्चात् कडेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
बैंकिङ्ग क्षेत्रको सेवामा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका कडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत ४ वर्ष देखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आएका थिए । बैंक सञ्चालनमा विशेष दखल राख्ने कडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्य अनुभव समेत सँगालेका छन् ।
प्रमुख कार्यकारी अधिकृत कडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाईमा लैजान मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।