नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा |
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
बैंकले पुस २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा अठ्ठाइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.५० प्रतिशतका दरले बोनस शेयर र १.८१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।