तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशत बढेपछि मंगलबारको कारोबार बन्द | ४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द भएको छ ।
यसअघि पहिलो दुई घण्टा (१ बजेभित्र) ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजार पुनः बढ्यो र त्यसले ६ प्रतिशतको बिन्दु छोयो । जसका कारण मंगलबार निर्धारित ३ बज्नुभन्दा सवा १ घण्टा अगाडि नै कारोबार बन्द भएको हो ।
मंगलबार ४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा नेप्से सूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से सूचक लगातार बढ्दा ६ प्रतिशतको सर्किट लागेर बन्द भएको हो।
मंगलबार कारोबार सुरु भएको करिब डेढ घण्टामा नै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो। सो पश्चात पनि नेप्से सूचक लगातार बढेर ६ प्रतिशतले बढेको हो।
यस दिन नेप्से सूचक १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २२.७२ अंक बढेर ४६०.३० विन्दुमा पुगेको छ।
यस दिन कारोबार भने न्युन छ। समयभन्दा अगाडि नै नेप्से सूचक बन्द भएपछि कारोबार रकम न्युन भएको हो। यस दिन २२० वटा कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर १ अर्ब ८४ लाख २६ करोड ४७ हजार १४४ रुपैयाँमा खरिद बिक्री भएको छ।
यस दिन विकास बैंक, फाइनान्स, व्यापार, उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक हुँदा यी ३ उपसमूहको सूचक ८ प्रतिशतभन्दा धेरैले बढेको छ।
यस दिन कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढेको छ। जसमा ४३ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। भने अरू २७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
मंगलबार नबिल बैंकको सबैभन्दा धेरै ९ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको ७ करोड ९ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ६ लाख, अपि पावरको ४ करोड ६० लाख रुपैयाँ र अरुण कावेली पावरको ४ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।