छिमेक लघुवित्तको साधारण सभा आव्हान, लाभांश प्रस्ताव पारित गर्दै |
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस २३ गते मकवानपुरको हेटौंडा स्थित होटल सामना प्रा.लि.को सभा हलमा २० औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले लाभांशका साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य गर्न प्रबन्धपत्रमा दफ थप गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस ७ गतेदेखि २३ गतेसम्म बन्द गर्ने भएको छ। यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। २७ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुग्नेछ।