नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा सामान्य सुधार |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको नेप्से अन्ततः करिब ८० अंक भन्दा बढीले घटेर बन्द भएको हो ।
आज नेप्से ७९.२३ अंकले घटेर दुई हजार २ सय ८२ दशमलब १ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज ३ अर्ब ९९ करोड ५६ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७७१.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज आठ शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर गुडवील फाइनान्स, आँखुखोला जलविद्युत, तेह्रथुम पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स र आइसीएफसी फाइनान्स रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज १८ करोड भन्दा बढीको कारोबार भएको छ ।