एनएमबि लघुवित्तले २२.६३ प्रतिशत लाभांश पुस २६ गते पारित गर्ने |
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस २६ गते, सोमबार नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले अन्य लघुवित्तसँगै मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।