एकर्ड फर्मास्युटिकल्सले ४ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने |
काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा ४ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ४ लाख ८० हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मंसीर २१ गते ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
अधिकृत पुँजी ६५ करोड र जारी पुँजी ४८ करोड रहेको यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाडाैंकाे तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित लुभूमा ओषधि उत्पादन गर्ने कारखाना रहेको छ ।
नेपालका औषधि तथा औषधिजन्य सामाग्रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवद्दित यो फर्मास्युटिकल्स कम्पनी विधिवत रुपमा शुरुमा विसं २०७० सालमा प्रालिका रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड तथा गाइडलाइन अनुरुप औषधि उत्पादन भवनको निर्माण गरिनुका साथै यन्त्र तथा उपकरणको व्यवस्थापन, जडान एबम् उत्पादन प्रक्रिया समेत सोही अनुरुप सुनिश्चित् गरिएको छ । कूल बिल्ट अप एरिया ६०,००० वर्गफिट रहेको उद्योगको भवनबाट बिशिष्ट र बिभिन्न प्रकारका गुणस्तरीय औषधिहरु बजारमा ल्याइसकेको यस उद्योगले स्वदेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने लक्ष्य सहित उत्पादन तथा बिक्री वितरणको आवश्यक व्यवस्था मिलाएको छ ।
हाल मुलुकमा औषधि उत्पादन गरिरहेका थुप्रै कम्पनीहरुमध्ये यो फर्मास्युटिकल्स कम्पनी सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधि उत्पादक कम्पनीको हाे ।