अभिनेत्री करिश्मा ‘ए प्लस’ ग्रेडका साथ कक्षा १२ उत्तीर्ण |
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तीर्ण गरेकी छन्। आजै प्रकाशित नतिजाअनुसार उनी ए प्लस ग्रेड ल्याएर कक्षा १२ पास भएकी हुन्।
उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ। नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन्।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको थियो। जसमा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए।
गत वैशाखमै गरिनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो।
राष्ट्रिय परीक्षा बाेर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ७ हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएका छन्।
यस्तै ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन्।
‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेको उनले जानकारी दिएका छन्।
बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थी ३ हजार ८७५ जना छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन्। यस्तै १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन्।
परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ।
नतिजा https://neb.ntc.net.np/ मा हेर्न सकिनेछ। एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ।