रोकिएन बजारमा सेलिङ प्रेसर, दोहोरो अंकले घट्यो नेप्से परिसूचक |
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो ।
पछिल्लो समय सेयर धितो कर्जामा लागेको सीमा घटेर बजार बढ्ने आशामा बसेका लगानीकताहरु समेत उक्त व्यवस्थामा परिमार्जन नहुँदा आफुसँग भएको सेयर बिक्री गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बैंकबाट ठूलो मात्रामा कर्जा लिएर बजारमा चलखेल गर्दै आएका लगानीकर्ताले बाध्यताबस आफुसँग भएको सेयर बिक्री गर्नुपर्ने भएको छ भने अन्य साना लगानीकर्ताले पनि त्यसैको मनोबैज्ञानिक त्रासमा कारण आफुसँग भएको सेयर बिक्री गर्न थालेका छन्,’ एक लगानीकर्ताले भने, ‘जसका कारण बजारमा दैनिक दोहोरो अंकको गिरावट आउनुका साथै सेलिङ प्रेसर समेत आएको छ ।’ साथै बजारमा तलरता अभाव हुँदा थप लगानीका लागि कर्जा नपाउँदा समेत बजारमा सेलिङ प्रेसर आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।
शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५१ अंकले घटेर २ हजार ९ सय २९ दशमलव ९७ अंकमा झरेकोमा छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९२ अंकले घटेको छ ।
सोमबार नेप्सेपरिसूचकसँगै कारोबार रकममा समेत सुस्तता देखिएको छ । आइतबार ६ अर्बको शेयर किनबेच भएकोमा सोमबार मुस्किकले ४ अर्ब पुगेको छ ।
परिसूचक तथा कारोबार रकम घटे पनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्डको समूका रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेन । यी दुइ समूहका अधिकांश कम्पनीहरु झिनों अंकले बढ्दा समूहगत सवइनडेक्स पनि दुबैको सकारात्मक देखिएको छ ।