एभरेष्ट ग्यास संसारको ब्रान्ड एम्बेसडरमा कलाकार दीपा र दिपक |
काठमाडौं । एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडरमा कलाकार दीपाश्री निरौला र दीपकराज गिरी नियुक्त भएका छन् । कम्पनीले मंसिर ३ गते काठमाडौंको हयात प्लेस होटलमा एक कार्यक्रम गरी कलाकार दीपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
एभरेष्ट ग्यास संसार नेपालको पुरानो र ठूलो ग्यास उद्योग समुह हो । जसको एभरेष्ट (काठमाडौं), त्रिशूल (भैरहवा), कामाख्य (सुनसरी), प्रिमा (सुनसरी), साहारा (हेटौडा), सैपाल (कैलाली) र सुगम (धादिङ्ग) ग्यास गरी जम्मा ७ वटा ग्यास ब्राण्डहरू एउटै छातामुनि छन् । यी सबै ब्राण्डका करिब २० लाख सिलिण्डर छन् ।
३० वर्षभन्दा बढीको अनुभव बटुलेको एभरेष्ट ग्यास संसारले करिब ३००० डिलरहरुको सञ्जाल माफर्त नेपालको कुना-कुनामा सेवा प्रदान गर्दै आएको छ ।
एभरेष्ट ग्यास संसारका अध्यक्ष शिवप्रसाद घिमिरेले एभरेष्ट ग्यास संसार मार्फत ७ वटा ब्राण्डहरुलाई एउटै छानामुनि ल्याएर उपभोक्तालाई केहि सहज गर्ने बताएका छन् ।
‘नेपालको ग्यास बजारमा केहि अब्यवस्थित छ। कुनै पनि समयमा कुनै पनि सिलिन्डरको उपलब्धता नहुन सक्छ । तथापि उपभोक्ताले एउटा ब्राण्डबाट अर्को ब्राण्डको सिलिण्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ । तसर्थ एभरेष्ट ग्यास संसार मार्फत ७ वटा ब्राण्डहरुलाई एउटै छानामुनि ल्याएर उपभोक्तालाई केहि सहज गर्ने प्रयास गरेका छौं । यो आश्वासन मात्र होइन हाम्रो ब्रान्डको प्रतिबद्धता पनि हो,’ उनले भने ।
दीपक र दीपाको जोडी छनोट गर्नुको कारण बताउँदै अध्यक्ष घिमिरेले भने, ‘एभरेष्ट ग्यास भनेको धर्म, जात, वर्गको भेदभाव नगरी जनताको ब्राण्ड हो । त्यसकारण हामी सामूहिक अपील भएको व्यक्तिसँग जोडिन चाहन्थ्यौं । त्यसैले, दीपा र दीपक हाम्रो स्पष्ट पहिलो रोजाइ हुनुहुन्छ । दीपा र दीपकको नेपाली जनतासँग विशेष सम्बन्ध छ र सबैजस्तै म पनि उहाँहरुको काम र व्यक्तित्वको ठूलो फ्यान हुँ ।’
त्यस्तै, दुबै ब्राण्ड एम्बेसडरले नेपालको प्रसिद एलपीजी ग्यास समूहसँग परिवारको सदस्यको रूपमा जोडिए पछि खुशी व्यक्त गरेका छन् ।