नेपालमा वायु प्रदूषण बढ्दै, आइतबारदेखि सुधार हुने |
काठमाडौं । विज्ञहरुले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् । बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही शहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने उनले बताए । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् ।
अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका भूभागहरूमा बदलीको अवस्था छ ।
यस्तो अवस्था शनिबार रातिसम्म रहने मौसम पूर्वानुमान महाशाखा मौसमविद निराजन सापकोटाले जानकारी दिए । ‘आइतबार बिहानदेखि बिस्तारै पश्चिमबाट खुल्दै पूर्वी भूभागतिर जान्छ । यसबाट पारदर्शितामा पनि वृद्धि हुन्छ,’ मौसमविद सापकोटाले भने ।
डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाडौं लगायत देशभरका केही शहरहरुमा वायुको गुणस्तर कम भएको बताए । उनले दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताए ।
डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए ।