नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ पुग्यो |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।
असोज मसान्तसम्ममा कम्पनीले ७० लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको साही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो।
इन्स्योरेन्सले शेयर लगानी नोक्सानी बापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफा उल्लेख्य घट्न पुगेको हो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९.२१ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्ममा कम्पनीले जीवन बीमा धितो बापत २० अर्ब ५७ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरी ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ।
सो अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार १२० दाबीबापत ३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा इन्स्योरेन्सको चुक्ता पूँजी ३१ प्रतिशत बढेको छ भने जगेडा कोष ७६.२९ प्रतिशत घटेको छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोष २५.२५ प्रतिशत र महाविपत्ती कोष ३.८३ प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी ०.३९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४३३८.०३ गुणा रहेको छ।