निर्धन उत्थानको नाफा धनात्मक |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक रहेको लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २० करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २७ करोड ९२ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।
खुद ब्याज आम्दानी बढेसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएको र निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.३९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८ करोड ६८ लाख ६२ हजार रुपैयाँ धनात्मक भएको छ। लघुवित्तको अन्य सञ्चालन आम्दानी भने ७६.२८ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत बढेको छ भने जगेडा कोष ५८.७६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १.५६ प्रतिशत घटेको छ भने निक्षेप १७.५२ प्रतिशत र कर्जा २३.७४ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७४ रुपैयाँ ४८ पैसा ऋणात्मकबाट ४७ रुपैयाँ ६५ पैसा धनात्मक भएको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३१३ रुपैयाँ १ पैसा रहेको छ।