बैंक अफ काठमाण्डूको सिईओमा मास्के नियुक्त, तीन दशकभन्दा धेरैको अनुभव |

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको हो ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघिदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गर्दै आएका थिए । मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका छन् । श्रवण लाल मास्केसंग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ । जसले उनलाई यस बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराए ।