सिभिल लघुवित्तको नाफा २८२.८२ प्रतिशतले बढ्यो |
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८२.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२०.३८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४३.६५ प्रतिशत बढेको छ। लघुवित्तले सो अवधिसम्ममा २७ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७.६१ प्रतिशत बढेको छ भने जगेडा कोष २५६.६९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी समीक्षा अवधिमा १३१.८१ प्रतिशत बढेको छ भने निक्षेप ६७.०५ प्रतिशत र कर्जा १०६.९३ प्रतिशत बढेको छ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसा बढेर २५ रुपैयाँ ७३ पैसामा पुगेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ५२.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ २० पैसा रहेको छ।