राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा एक अर्ब माथि |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.७० प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ८२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेपनि नेट फि तथा कमिशन आम्दानी भने २०.४६ प्रतिशतले घटेको छ ।
यस्तै बैंकको सञ्चालन मुनाफा पनि ९.३८ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकले २ अर्ब ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप संकलन ८.७९ प्रतिशतले घट्दा कर्जा लगानी भने ६.५३ प्रतिशतले बढेको छ ।
चुक्ता पूँजी १० अर्ब १८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ ।